राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा प्राविधिक समस्या देखिए पनि नागरिकले पाउँदै आएको सार्वजनिक सेवा नरोकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्पष्ट पारेको छ।
विभागले सोमबार सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभएकै कारण नागरिकलाई राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायतका सार्वजनिक सेवा लिनबाट वञ्चित नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।
विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत नागरिकको विवरण दर्ता गर्ने र राष्ट्रिय परिचय नम्बर जारी गर्ने काम नियमित रूपमा भइरहेको छ। तर, विवरण प्रमाणीकरणका लागि प्रयोग हुने स्वचालित जैविक विवरण पहिचान प्रणाली (ABIS) को क्षमतामा समस्या देखिँदा केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो।
विशेषगरी २०८३ असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकमा यस्तो समस्या देखिएको विभागले जनाएको छ।
यस समस्याका कारण पछिल्लो समय विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीलाई असहज भएको गुनासो आएको थियो। त्यस्तै, अन्य सरकारी तथा वित्तीय सेवामा समेत प्रमाणीकरणसम्बन्धी समस्या देखिएको थियो।
विभागले स्वचालित जैविक विवरण पहिचान प्रणालीको क्षमता विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ। आगामी दुई साताभित्र क्षमता विस्तारको काम सम्पन्न गरी विवरण प्रमाणीकरण सेवा नियमित बनाउने अपेक्षा विभागले गरेको छ।
यस विषयमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग आबद्ध सरकारी तथा सेवा प्रदायक निकायलाई जानकारी गराइसकिएको र आवश्यक समन्वयसमेत गरिएको विभागले जनाएको छ।
विभागले प्राविधिक समस्याका कारण कुनै पनि नागरिक सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नहुने स्पष्ट पार्दै सम्बन्धित निकायलाई सहज रूपमा सेवा प्रवाह गर्न आग्रह गरेको छ।
राष्ट्रिय परिचयपत्र प्रमाणीकरण नभए पनि सरकारी सेवा नरोकिने