देश

पर्यटक भिसामा नेपाल आएका ६ बंगलादेशी नागरिक प्रहरी नियन्त्रणबाट रिहा

सम्पादक 2026 November 13 18 घण्टा अघि 150 पटक हेरियो 2 मिनेट पढाइ
पर्यटक भिसामा नेपाल आएका ६ बंगलादेशी नागरिक प्रहरी नियन्त्रणबाट रिहा

वीरगञ्ज । पर्यटक (टुरिस्ट) भिसामा नेपाल आएर धार्मिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरी नियन्त्रणमा लिइएका ६ जना बंगलादेशी नागरिकलाई प्रहरीले रिहा गरेको छ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र नेपाली कांग्रेसका नेता मोहम्मद सहाबुद्दिनको पहल तथा स्थानीयको रोहबरमा उनीहरूलाई रिहा गरिएको हो।

शुक्रबार राति करिब १० बजे जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत श्रीपुर वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि करिब दुई सय स्थानीयले तत्काल रिहाइको माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए। घेराउका क्रममा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरूलाई समेत अवरोध गरिएको बताइएको छ।

प्रहरीले अनुसन्धान गरिरहेकै बेला मेयर राजेशमान सिंह पनि प्रहरी चौकी पुगेका थिए। मेयर सिंह र प्रहरीबीच छलफल भएको केही समयपछि नियन्त्रणमा लिइएका सबैलाई स्थानीयको जिम्मा लगाएर छाडिएको हो।

वडाध्यक्ष सञ्जु छतकुलीले आफूलाई जानकारी नदिई विदेशी नागरिकलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार ती नागरिक मस्जिदभित्र धार्मिक गतिविधिमा संलग्न थिए।

अध्यागमन कार्यालय पर्साका अनुसार ६ जनासहित १५ जनाको टोली गत असोज २७ गते बंगलादेशबाट हवाई मार्ग हुँदै नेपाल आएको थियो। उनीहरूले कात्तिक ५ गते भिसाको म्यादसमेत थप गराएका थिए।

अध्यागमन कानुनअनुसार पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले धार्मिक गतिविधि, सभा–सम्मेलन तथा धर्म प्रचारप्रसार गर्न पाउँदैनन्।

यस घटनाले पर्यटक भिसाको प्रयोग, अध्यागमन कानुनको कार्यान्वयन र स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ। साथै, प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई अनुसन्धान पूरा हुनुअघि स्थानीयको जिम्मा लगाएर रिहा गरिएको विषयमा समेत स्पष्टता आवश्यक देखिएको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र मल्लले प्रतिक्रिया दिन चाहेनन्।