जनकपुरधाम, असार ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा नयाँ विवाद सतहमा आएको छ। सभापति पदमा उम्मेदवारी घोषणा गरेका बारा क्षेत्र नं. ३ का सभापति भोला साह कानु (अभिषेक गुप्ता) अन्तिम प्रतिनिधि सूचीबाट हटाइएपछि उनले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्।
गुप्ताले सभापति रवि लामिछाने विरुद्ध उम्मेदवारी घोषणा गरेकै कारण आफूलाई महाधिवेशन प्रतिनिधिको मताधिकारबाट वञ्चित गरिएको दाबी गरेका छन्। उनका अनुसार प्रारम्भिक प्रतिनिधि सूचीमा नाम समावेश भए पनि अन्तिम सूची प्रकाशित हुँदा आफ्नो नाम हटाइएको थियो।
यता मधेश प्रदेश सभापति मनिष साहले भने गुप्तामाथिको कारबाही उम्मेदवारीसँग सम्बन्धित नभई पार्टी अनुशासन र निर्वाचन आयोगको निर्णयअनुसार गरिएको बताएका छन्। सहमहामन्त्री गणेश धिमालले पनि यो विषय निर्वाचन समितिको अधिकार क्षेत्रभित्र पर्ने भन्दै प्रतिक्रिया दिएका छन्।
गुप्ताले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य बारा जिल्ला पूर्वसभापति चन्दन स्वर्णकारको साधारण सदस्यता फुकुवा गराउनु रहेको बताएका थिए। स्वर्णकारलाई गत जेठ ६ गते पार्टीले अनुशासन उल्लंघनको आधारमा निष्कासन गरेको थियो। सोही निर्णयको विरोधस्वरूप गुप्ताले सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए।
महाधिवेशन चलिरहँदा प्रतिनिधि सूची र उम्मेदवारीसँग सम्बन्धित यो विवादले रास्वपाभित्रको आन्तरिक राजनीति थप चर्चामा आएको छ।
रास्वपा महाधिवेशनमा विवाद: सभापति पदका उम्मेदवार भोला साह कानु प्रतिनिधि सूचीबाट हटाइए