देश

मधेशका आठवटै जिल्लाका पत्रकार महासंघ शाखालाई सञ्चार सामग्री हस्तान्तरण

सम्पादक 2026 August 21 18 घण्टा अघि 51 पटक हेरियो 1 मिनेट पढाइ
मधेशका आठवटै जिल्लाका पत्रकार महासंघ शाखालाई सञ्चार सामग्री हस्तान्तरण

मधेश प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लामा रहेका नेपाल पत्रकार महासंघका जिल्ला शाखालाई संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि सञ्चार सामग्री उपलब्ध गराएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रत्येक जिल्ला शाखालाई एक–एक थान कम्प्युटर सेट, प्रिन्टर र प्रोजेक्टर हस्तान्तरण गरिएको हो।
सामग्री हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सञ्चार संस्थालाई सक्षम र व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै गलत तथा भ्रमपूर्ण सूचना प्रवाहको जोखिम बढेको भन्दै पत्रकार तथा सञ्चारमाध्यमलाई सत्य, तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो।
मन्त्री महतोले सञ्चार क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका आठवटै जिल्ला शाखाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षलगायत सञ्चारकर्मीहरूको सहभागिता थियो। कार्यक्रमको संयोजन मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाले गर्नुभएको थियो।