वीरगञ्ज । वीरगञ्जस्थित ज्ञानदा एकेडेमी कलेजमा सीईओसँग सम्बन्धित भनिएको विवादलाई लिएर सामाजिक अभियन्ता कृष्ण मोहन सहनीले गम्भीर आपत्ति जनाएका छन्।
सहनीले कलेजमा भएको भनिएको अनियमितता तथा गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
उनले विकल्प खोज्ने नाममा सीईओलाई पदबाट हटाएर गलत गतिविधिमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिनु अर्को गलत कार्य हुने बताएका छन्।
उनका अनुसार, पदबाट हटाउँदैमा कसैले गरेको भनिएको गल्ती र त्यसको जवाफदेहिताबाट छुटकारा पाउन सक्दैन। कलेजभित्र उठेका प्रश्नलाई प्रशासनिक फेरबदल गरेर मात्र समाधान गर्न नसकिने उनको भनाइ छ।
हालै शिक्षक तथा कर्मचारीहरूले सार्वजनिक गरेको खुला पत्रपछि कलेजको आन्तरिक व्यवस्थापन र नेतृत्वको भूमिकामाथि प्रश्न उठेको छ। यद्यपि, कलेज व्यवस्थापन पक्षले सार्वजनिक आरोपहरू अस्वीकार गर्दै आएको समाचारसमेत सार्वजनिक भएका छन्।
सहनीले सम्बन्धित निकाय तथा कलेज व्यवस्थापनलाई निष्पक्ष छानबिन गरी पद, पहुँच र प्रभावभन्दा माथि उठेर दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्।
उनको स्पष्ट भनाइ छ, “विकल्प खोज्नु समस्याको समाधान होइन, गलत गर्नेलाई कारबाही गर्नु नै वास्तविक समाधान हो।”
ज्ञानदा एकेडेमी विवाद : सीईओ हटाएर गलत गर्नेलाई उन्मुक्ति दिनु अर्को गल्ती – अभियन्ता कृष्ण मोहन सहनी