क्यासिनोमा प्रहरी निरीक्षकदेखि गाउँपालिका अध्यक्षसम्म पक्राउ, सरकारी गाडीसमेत बरामद
वीरगन्ज । वीरगन्ज–१४ गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोनमा प्रहरीले छापा मार्दा प्रहरी निरीक्षक प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित ८ जना पक्राउ परेका छन्।
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई जुवा खेलाइएको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ। घटनास्थलबाट गाउँपालिकाको सरकारी गाडीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रहरी निरीक्षक पौडेलमाथि क्यासिनोमा जुवा खेलेको आरोप लागेको छ। उनी केही समयअघि निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत भएको विवरणसमेत सार्वजनिक भएको थियो। त्यसैले घटनापछि ‘कानुन कार्यान्वयन गर्ने प्रहरी अधिकारी नै क्यासिनोमा कसरी पुगे ?’ भन्ने प्रश्न उठेको छ।
प्रहरीले क्यासिनोबाट सीसीटीभीको डीभीआर, कम्प्युटर, कागजातलगायत सामग्री नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकाहरू दोषी प्रमाणित भइसकेका छैनन्।
क्यासिनोमा प्रहरी निरीक्षकदेखि गाउँपालिका अध्यक्षसम्म, पक्राउपछि उठ्यो प्रश्नै–प्रश्न!