देश

वीरगञ्जमा भन्सार छलीको मदिरा बरामद, एक जना पक्राउ

सम्पादक 2026 July 12 15 घण्टा अघि 115 पटक हेरियो 1 मिनेट पढाइ
वीरगञ्जमा भन्सार छलीको मदिरा बरामद, एक जना पक्राउ

वीरगञ्ज, पर्सा — पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ मितेरी पुल नजिक रहेको कस्तुरी कोल्ड स्टोरमा छापा मारेर भन्सार छली गरी लुकाइएका विभिन्न ब्रान्डका मदिरा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा खटिएको टोलीले छापा मार्दा BHERI AMBITION ब्रान्डका ३८ कार्टुन र ५९ बोतल, कस्तुरी ब्रान्डका १० कार्टुन, Kingfisher क्यान बियर १ कार्टुन तथा Kingfisher बोतल बियर १ कार्टुन (२२ बोतल) बरामद गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज–३ निवासी करिब ३६ वर्षीय दिपक प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि भन्सार छली गरी मदिरा भण्डारण तथा कारोबार गरेको आशंकामा अनुसन्धान भइरहेको छ।
बरामद मदिरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ। साथै, यस घटनामा अन्य व्यक्ति वा संगठित सञ्जालको संलग्नता भए/नभएको विषयमा पनि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।