देश

ई–पासपोर्ट प्रकरण: अरजु राणा र दुई जर्मन कम्पनीलाई अख्तियारको बयानका लागि बोलावट

सम्पादक 2026 June 19 2026-06-19 112 पटक हेरियो 1 मिनेट पढाइ
ई–पासपोर्ट प्रकरण: अरजु राणा र दुई जर्मन कम्पनीलाई अख्तियारको बयानका लागि बोलावट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले ई–पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धानका क्रममा पूर्व परराष्ट्रमन्त्री अरजु राणा देउवा तथा सम्झौतामा संलग्न दुई जर्मन कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ।

अख्तियारको टोलीले बुधानीलकण्ठ नगरपालिका–२ स्थित निवासमै पुगेर अरजु राणालाई तीन दिनभित्र उपस्थित हुन सूचना दिएको थियो। तर उनले आफू स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र तोकिएको समयमा उपस्थित हुन नसक्ने जानकारी इमेलमार्फत आयोगलाई गराएकी छन्। उनले स्वास्थ्य अवस्थाका कारण तत्काल नेपाल फर्किन नसक्ने भए पनि अनुसन्धानमा सहयोग गर्ने बताएकी छन्।

अरजु र उनका पति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हाल हङकङमा रहेको बताइएको छ। शेरबहादुर देउवा पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरामा रहेका छन्।

अख्तियारले ई–पासपोर्ट ठेक्का पाएका जर्मनीका मुएलबाउर आईडी सर्भिसेस GmbH र भेरिडोस GmbH कम्पनी तथा सम्झौतामा हस्ताक्षर गर्ने प्रतिनिधिहरूलाई पनि उपस्थित हुन निर्देशन दिएको छ। उनीहरूलाई प्रत्यक्ष वा भर्चुअल रूपमा बयान दिन सकिने व्यवस्था गरिएको छ।

यस प्रकरणमा अख्तियारले यसअघि नै चार जनालाई पक्राउ गरिसकेको छ भने विशेष अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी राखेको छ।